२०८३ वैशाख २८ , सोमबार

वीरेन्द्रनगर ‘राष्ट्रिय कचहरी’ सुरु



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘राष्ट्रिय कचहरी’ सुरु भएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको आयोजनामा बिहीवारदेखि ‘राष्ट्रिय कचहरी’ सुरु भएको हो । ‘राष्ट्रिय कचहरी’कोे उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री शाहीले सङ्घीय व्यवस्था राम्रो भए पनि त्यसको उचित व्यवस्थापन नहुँदा केही असन्तुष्टि उब्जेको भन्दै यसको सुदृढीकरण आवश्यक रहेको बताएका छन् । उनले सङ्घीयता प्रणालीमा गइसकेपछि जनताका माग बढे पनि माग भने पूरा नभएको दाबी गरे । लुम्बिनी प्रदेशसभा सदस्य सञ्जु चौधरीले सङ्घीयता कार्यान्वयनमा आएको लामो समय भएपनि अपेक्षित प्रतिफल नदेखिएको टिप्पणी गरिन् ।

यसका लागि तीन तहका सरकारको कार्यलाई समीक्षा गर्नुपर्ने उनको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बजेट बिनियोजन हुँदा पञ्चवर्षीय योजनाको सिद्धान्त, उद्देश्य र मार्गनिर्देशनअनुसार आउनेमा आशङ्का व्यक्त गरिन् । उनले तीन तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम हुन नसकेको समेत जिकिर गरेकी छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा अर्थविद डा. पोषणराज पाण्डेले समावेशी विकास आजको आवश्यकता भएको उल्लेख गरे ।वैदेशिक रोजगारका लागि दैनिक औसत दुई हजार देश बाहिर जाने अवस्थाले मुलुकको कुल ग्राहस्थ्य उत्पादन असर परेको उनको भनाई छ ।

संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठन नेपाल तथा भूटानका देशीय प्रतिनिधि केन शिमिजुले विश्वमा बढ्दै गएको असमानता, कोभिड, राजनीतिक सङ्कट र वातारणीय असरले कर्णालीजस्ता क्षेत्रलाई निकै असर पारेको बताए । नगरपालिका सङ्घ नेपालका अध्यक्ष नरुलाल चौधरीले संविधानमा व्यवस्था भएका साझा सूची अनुरुप काम नभएको बताए ।

सङ्घीय शिक्षा तथा निजामती कर्मचारी ऐन नबनेका कारण पनि समस्या झेल्नुपरेको उनले बताए । राष्ट्रिय कचहरी दुई दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहीबार