२०८३ जेठ २७ , बुधबार
बालकुमारी घटना

शनिवार गरियो वीरेन्द्रनगर र दैलेखमा प्रदर्शन

आज सरकारी सवारी साधन पुर्ण रुपमा बन्द


कल्पना हमाल, सुर्खेत । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा दुई युवकको मृत्यु भएको घटनाको विरोधमा आन्दोलन संघर्ष समिति सुर्खेतले आज सुर्खेतमा सरकारी सवारी साधन पूर्णरुपमा बन्दको आह्वान गरेको छ ।

यो हेर्नुहोस् – बालकुमारी घटना : आइतबार सुर्खेतमा सरकारी सवारी साधन बन्दको घोषणा

साथै संघर्ष समितिले आज दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टाका लागि सम्पूर्ण सवारी साधन बन्दको आह्वान पनि गरेको छ । आन्दोलन भइराखेको ठाउँमा जबरजस्ती झण्डा हल्लाउँदै भीडमा प्रवेश गर्ने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गोली हान्न आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र घटनामा संलग्न अन्यलाई कानुन अनुसार कारबाहीको माग गर्दै सवारी साधन बन्दको आह्वान गरिएको संघर्ष समितिले जनाएको छ ।

यो पनि हेर्नुहोस् –

शुक्रबार ललितपुरमा झडपका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । रावतको छातीमा निलो डाम देखिएको थियो भने शाहको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मृतकका आफन्त, शुभचिन्तक र शुभेच्छुकहरुले दोषीलाई कारबाही, मृतक युवाहरुलाई शहीद घोषणा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टी लगायतका मागहरु राख्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतसहित विभिन्न जिल्लाहरुमा आन्दोलन गरिरहेका छन् ।

सुर्खेत र दैलेखमा प्रर्दशन
शनिवार बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै दैलेख बजार र सुर्खेतको वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन भएको थियो । दैलेखलगायत कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए । ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरिचोकबाट आन्दोलन सुरु गरेका थिए ।

यो पनि हेर्नुहोस् – बालकुमारी घटना : गृहमन्त्रीको राजीनामा माग गर्दै वीरेन्द्रनगर प्रदर्शन

उनीहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरेका थिए भने सुजनको जिल्लामा युवाहरुले नारा जुलुस गरेका थिए ।उनीहरुले रोजगारीका लागि विदेश जान्छु भन्दा पनि राज्यकै कारण युवाहरुको ज्यान गएको बताए ।

आन्दोलनमा सहभागी दैलेखका नवीन योगीले गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन स्थगित नहुने बताए । त्यसै गरि दैलेखका युवा नेता जनक शर्मा भने मृतकका परिवार उचित क्षतिपूर्ति मृतकलाई सहिद घोषणा, रावतका र शाहका आफन्तलाई रोजगारी स–साना भाइ बहिनीहरुलाई शिक्षा,दीक्षा व्यवस्थापन गर्नुपर्ने बताए ।

जनही दस लाख राहत दिने विषय सम्मान र आलोचना दुवै
यस्तै बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ । शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई जनही१० लाख रूपैयाँ दिने निर्णय गरेको हो ।

यो पनि हेर्नुहोस् – बालकुमारी घटना : मृतकका परिवारलाई सरकारले जनही १० लाख राहत दिने

अहिले सरकारले मृतकका परिवारलाई १० लाख दिएर पन्छिन खोजेको भन्दै यो चर्चाको विषय बनेको छ । दुई जना रोजगारका निमित्त देश छोड्छु भनेका युवालाई राज्यव्यवस्थाले देश संसार नै छोडाई दिएको भन्दै केही प्रतिपक्ष राजनीतिक दल तथा विश्लेषकहरूले चर्को विरोध जनाएका छन् भने अर्कातर्फ सरकारले तत्काल राहत सम्बोधन गर्ने विषय तारिफयोग्य भएको भन्दै केही पार्टी तथा व्यक्तिले सरकारको सम्बोधनलाई सम्मान गरेका छन् ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए । त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाँठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८० पुस १५ गते आइतबार