सुर्खेत । कर्णाली कृषि विकास रणनीति मस्यौदामाथि बुधवार छलफल गरिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहको अध्यक्षतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा छलफल गरिएको हो।उक्त छलफलमा मुख्यमन्त्री कँडेलले कृषि विकास रणनीतिक दस्ताबेजले कर्णालीको सुन्दर भविष्य बोकेको बताए।
कँडेलले दस्ताबेज बनाएर मात्रै नहुने भन्दै दस्ताबेजमाथि सरकार र कर्मचारीहरु जिम्मेवार बनेर कार्यान्वयनमा लैजानु पर्ने बताए। कर्णालीमा पछिल्लो समय बाँझो जग्गाको प्रतिशत बढेको बताउँदै मुख्यमन्त्री कँडेलले बाँझो जग्गामा खेती गरेर कर्णालीको कृषिमा विकास गर्नुपर्ने बताए। उनले कृषि विकास रणनीतिमा उल्लेख गरिएका विषयबस्तुहरु सुन्दर भएका र तिनलाई विश्वसनीयता बनाउनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए।
यस्तै, मुख्यमन्त्री कँडेलले कर्णालीको कृषि परिमुखी भएको बताउँदै यसलाई तत्काल सुधार गरेर अगाडी बढ्न सुझाव दिए। उनले भने, ‘नीतिगत रूपमा कृषिसँग सम्बन्धित सबै निकायलाई समावेश गरेर अगाडी बढेपछि सफलतामा पुगिन्छ। कर्णालीमा पशुपालनलाई व्यवस्थित गर्ने, कर्णाली प्रदेशमा बाहिरबाट आयत हुने कृषि उपजहरूको विषादी परीक्षण गर्ने र कर्णालीमा उत्पादन हुने कृषि उत्पादनलाई बजार सुनिश्चितता गर्नुपर्ने आजको आवश्यकता छ।’
यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री कँडेलले दिएका सुझावहरू सकारात्मक भएको बताए। मन्त्री शाहले कर्णालीको समृद्धि कृषिबाटै गर्न आवश्यक रहेको बताए। उनले भने, ‘हामीले बनाएको नीति, निर्माणहरू व्यवहारमा लागू भएका छैनन्। यस कृषि विकास रणनीतिमा भएका सिद्धान्तहरू व्यवहारमा उतार्नु पर्नेछ।’
साथै मन्त्री शाहले कर्णाली कृषि विकास रणनीति मस्यौदामाथिको छलफलपछि उठेका सुझावहरूले कृषि रणनीतिलाई समृद्ध बनाउने बताए। यस्तै, यसअघि वीरेन्द्रनगरमा कृषि मन्त्रालयले कर्णाली कृषि विकास रणनीति मस्यौदामाथि कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरू, सचिवहरू तथा अन्य कर्मचारीहरूसँग बृहत् छलफल समेत गरिसकेको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कर्णाली कृषि विकास रणनीतिमा चार वटा खण्ड र १६ वटा अनुसूची राखिएका छन्। जसको खण्ड १ मा परिचय, खण्ड २ मा प्रदेशको पृष्ठभूमि तथा स्थिति विश्लेषण, खण्ड ३ मा कर्णाली कृषि विकास रणनीति, खण्ड ४ मा अनुगमन तथा मूल्याङ्कन प्रणाली छन्।
यस्तै, खण्ड २ प्रदेशको पृष्ठभूमि तथा स्थिति विश्लेषणमा भौगोलिक तथा प्राकृतिक अवस्था, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत, घरधुरी र जनसङ्ख्या, जनजीविका र आयस्रोत, खाद्य सुरक्षा र पोषण, भू–उपयोगको अवस्था, सिँचाइ, बाली उत्पादन स्थिति, पशुपन्छी उत्पादन स्थिति, कृषि सामग्री, स्रोत केन्द्र र वित्तीय सेवाहरू, कृषि शिक्षा, अनुसन्धान र कृषि प्रसार सुविधाहरू, जलवायु परिवर्तन र यसका असरहरू, अवसरहरू, चुनौतीहरू र मुख्य कार्यक्षेत्रहरू, सम्भाव्यतायुक्त बालीबस्तुहरु, नीति र सरकारी संरचना, प्रदेशको संस्थागत क्षमता विश्लेषण, बजेट र खर्चको अवस्था समावेश गरिएको छ।
त्यस्तै, खण्ड ३ कर्णाली कृषि विकास रणनीतिमा कर्णाली प्रदेशको कृषि रणनीतिको मूल आधार र कर्णाली कृषि विकास रणनीतिको परिकल्पना समावेश छन्। यस्तै, खण्ड ४ अनुगमन, मूल्याङ्कन र समीक्षामा अनुगमन दूरदृष्टि, परिणाम, र प्रतिफलहरू, रणनीति कार्यान्वयनको लागि आवश्यक कानुन, प्रमुख सरोकारवाला निकायहरू र भूमिका र कर्णाली कृषि विकास रणनीति मार्गचित्र जस्ता विषयवस्तु समावेश गरिएको छ।