सुर्खेत । “सबैका लागि न्याय” भन्ने मुल नाराका साथ न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजनाको मुल परिदृश्य अनुरूप उच्च अदालत सुर्खेतमा आज (शुक्रवार) वृक्षारोपण गर्दै कानून दिवस मनाइएको छ ।
कार्यक्रममा उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराई, कर्णाली प्रदेशका प्रमुख न्यायाधिवक्ता कृष्णबहादुर हमाल, सहन्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, जिल्ला न्यायाधीश बसन्तराज जोशी, प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, उच्च अदालत बार इकाइका अध्यक्ष दुर्गाप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
मुख्य अतिथिका रूपमा सहभागी भएका कायम मुकायम मुख्य न्यायाधीश भट्टराईले अतिथिहरूलाई स्वागत गर्दै कानून दिवसको ऐतिहासिक महत्व र यसको वर्तमान सान्दर्भिकता बारे मन्तव्य राखेका थिए । उनले सबैका लागि न्याय सुनिश्चित गर्न न्याय प्रणाली सुदृढ बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको उच्च अदालत सुर्खेतका शाखा अधिकृत खेमराज तिमिल्सेनाले जानकारी दिए ।