२०८२ फागुन १ , शुक्रबार

वीरेन्द्रनगरमा लागुऔषध, पेस्तोल, खुकुरी र जरायोको सिङसहित दुईजना पक्राउ



सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा लागुऔषध, पेस्तोल, धारिलो हतियार (खुकुरी) र संरक्षित वन्यजन्तु जरायोको सिङसहित दुई जनालाई पक्राउ गरेको छ । गएराति साढे ९ बजेतिर वीरेन्द्रनगरको कालिन्चोकस्थित राधाकृष्ण मन्दिर नजिकैबाट दुईजनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगरका २३ वर्षीय विद्धान शाही र अर्का २२ वर्षीय युवक रहेको प्रहरी स्रोतले जानकारी दियो ।

दोस्रो व्यक्तिले आफ्नो नाम पटक–पटक फरक बताउँदै आएकोले उनको वास्तविक परिचय एकिन नभइसकेको स्रोतको भनाइ छ । प्रारम्भिक बयानमा उनले आफूलाई आदित्य घिमिरे बताएको भए पनि सो नाम पुष्टि गर्न थप अनुसन्धान भइरहेको छ । स्रोतका अनुसार पक्राउ परेकाहरूको साथबाट लागुऔषध, खुकुरी र दुर्लभ प्रजातिको जरायोको सिङ, पेस्तोल र १२ राउण्ड गोलीसमेत फेला परेको छ ।

पक्राउ परेका युवाहरू कहाँबाट, कसरी र के उद्देश्यले उक्त सामग्री ल्याएका थिए भन्ने विषयमा अनुसन्धान जारी रहेकाले विवरण सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । प्रहरीले घटनाबारे आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी आधिकारिक विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार