२०८२ फागुन १ , शुक्रबार

कर्णालीमा करोडौँको अनियमितता भएको भन्दै अख्तियार पुग्यो राप्रपा



सुर्खेत । कर्णाली प्रदेशमा बढ्दो भ्रष्टाचार र कुशासनविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा ध्यानाकर्षण गराएको छ । प्रदेशका दर्जनौँ आयोजना र कार्यक्रममार्फत गरिएको करोडौँको अनियमितताको सूचीसहित राप्रपाले आयोगलाई तत्काल निष्पक्ष छानबिन गर्न माग गरेको हो ।

राप्रपाका केन्द्रीय सदस्य रवि किरण हमालको नेतृत्वमा युवा नेताहरू प्रेम बिसी, मणिचन्द्र पाण्डे, सन्देश शाही, पारस शाही र जङ्गबहादुर शाहीसहितको टोलीले आयोगको सुर्खेतस्थित कार्यालयमा पुगेर निमित्त प्रमुख राजकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनमा देखाएको चरम असफलता, सार्वजनिक रकमको दुरुपयोग, योजनामा कमिसन लिने, गुणस्तरहीन निर्माण गर्ने, तोकिएको समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिहरूलाई गम्भीर आरोपका रूपमा उल्लेख गरिएको छ ।

राप्रपाले विशेष रूपमा कर्णाली प्रदेश अस्पतालमा एमआरआई मेसिन खरिदमा भएको करोडौँको घोटाला, रारा पर्यटन वर्षको कार्यक्रम, विभिन्न जिल्लामा निर्माण भएका कोल्ड स्टोरहरूमा भएको अपारदर्शिता, चौकुने गाउँपालिकाको जुम्ल्याहा मूल ताल आयोजना, नमुना गाउँ निर्माण योजना, कृषक अनुदान कार्यक्रम, एम्बुलेन्स खरिद, खानेपानी आयोजना, कोभिड स्वास्थ्य सामग्री खरिद, र उपभोक्ता समितिमार्फत भएका कामहरूमा संस्थागत भ्रष्टाचार भएको ठहर गरेको छ ।

राप्रपाका नेताहरूले सरकारको असक्षमता प्रमाणित गर्ने आधारका रूपमा हालै सम्पन्न आर्थिक वर्षमा झन्डै एक तिहाइ बजेट खर्च हुन नसकेको तथ्यलाई पनि समावेश गरेका छन् । ‘जनताको करबाट उठाइएको पैसा योजनाविना सकिएको छ, तर त्यसको प्रतिफल जनताले पाएका छैनन्,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘यो आफैँमा अख्तियार दुरुपयोगको ज्वलन्त प्रमाण हो ।’ भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै आज देशैभर राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ ।

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार