
सुर्खेत । महिनावारीलाई स्वास्थ्य, लैङ्गिक समानता र वातावरणीय सरोकारसँग जोड्दै ‘सबैका लागि महिनावारी स्वास्थ्य तथा न्याय’ परियोजना सुर्खेतको पञ्चपुरी नगरपालिका क्षेत्रमा सुरु गरिएको छ । पञ्चपुरी नगरपालिकाको समन्वयमा र सुशासन प्रवद्र्धनका लागि युवा सुर्खेतको सहजीकरणमा सुरु गरिएको उक्त परियोजना युके रिसर्च एण्ड इनोभेसन बाथ विश्वविद्यालय र कृपाको प्राविधिक तथा वित्तीय सहयोगमा कार्यान्वयनमा आएको हो ।
परियोजनाको उद्घाटन कार्यक्रम पञ्चपुरी नगरप्रमुख लालबिर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नगर उपप्रमुख मुक्तिदेवी रेग्मी प्रमुख अतिथिका रुपम रहेकी थिइन् । उपप्रमुख रेग्मीले महिनावारी सम्बन्धी स्वास्थ्य र शिक्षा सुधारका लागि परियोजना उपयोगी हुने बताउँदै यसले महिलाको पीडा न्यून गर्न सहयोग गर्ने धारणा व्यक्त गरिन् । कार्यक्रममा युवा सुर्खेतका कार्यकारी निर्देशक घनश्याम के.सी.ले संस्थाको भूमिका र परियोजनाका उद्देश्यबारे जानकारी गराए ।
परियोजना संयोजक एलीना भारतीले परियोजनाको उद्देश्य, कार्यविधि तथा रणनीतिबारे विस्तृत जानकारीसहित प्रस्तुति दिएकी थिइन् । नगर प्रमुख भण्डारीले महिनावारीसँग जोडिएका सामाजिक र स्वास्थ्य सम्बन्धी विषयहरूमा जागरुकता आवश्यक रहेको बताउँदै नगरपालिकाको तर्फबाट निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाए । परियोजनाले वडा नम्बर २,४,६,८,९ र ११ का किशोरीहरूलाई लक्षित गरी १२ वटा शैक्षिक तथा व्यवहारिक सत्रहरू सञ्चालन गर्नेछ ।
साथै अभिभावकको सहभागितामा ४ वटा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि आयोजना गरिने बताइएको छ । यी सत्रहरूमा महिनावारी चक्र, पीडा व्यवस्थापन, वातावरणमैत्री अभ्यास, मानसिक स्वास्थ्य तथा महिनावारी न्यायका अवधारणामा आधारित छलफल र अभ्यास गराइने आयोजकले जनाएको छ ।