२०८३ वैशाख ४ , शुक्रबार

वीरेन्द्रनगरमा अटो चालकको मनपरी : चलाउँछन् लाइसेन्स बिना, गर्दैनन् नियम पालना

नियमन गर्न ट्राफिक उत्रियो मैदानमा


सुर्खेत । सोमवार सुर्खेतको चौकुने गाउँपालिकामा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका सात जना घाइते भए । प्रहरीका अनुसार चौकुने गाउँपालिका–८ स्थित मदन भण्डारी राजमार्ग अन्तर्गत मायातालबाट गुटुतर्फ जाँदै गरेको से १ ह २७०० नम्बरको अटो रिक्सा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो । दुर्घटनामा अटो चालकसहित सवार सबै जना घाइते भएका थिए ।

घाइते हुनेहरूमा चालक, चौकुने गाउँपालिका–५ भुयातालका २९ वर्षीय नवराज आले चौकुने–५ मायातालकी ३५ वर्षीया मिना विक र उनका ५ महिनाका छोरा नविश विक, चौकुने–८ कोलघारकी १० वर्षीया धरमिसरा विक र ३२ वर्षीया जस्दा विक घाइते भएकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा अटोले क्षमताभन्दा बढी यात्रु बोकेकाले अनियन्त्रित भएको हुनसक्ने आशङ्का गरेको थियो ।

कर्णाली प्रदेशको राजधानीमा मात्रै होइन पछिल्लो समय ग्रामीण भेगमा समेत अटोको दुर्घटना धेरे मात्रामा हुने गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा त झनै दैनिक जसो अटो सवारी दुर्घटना भइरहेकै हुन्छन् । अटोको दुर्घटना संख्या बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुरक्षा चेकजाँच अभियानलाई तीव्रता दिएको छ । मंगलवार विहान ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक वकिल सुनार स्वयम् वीरेन्द्रनगरको मंगलगढी चोकमा चेकजाँचमा खटिए।

त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय अगाडिदेखि वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानमा ट्राफिक टोलीले दिनभर चेकजाँचलाई कडाई गरेको थियो । प्रहरी निरीक्षक सुनारले अटोरिक्साका कारण वीरेन्द्रनगरमा सवारी दुर्घटना बढेको जनगुनासो आएपछि चेकजाँच अभियान सुरु गरिएको बताए । उनका अनुसार प्रत्येक दिनजसो सवारी दुर्घटना भइरहेका र त्यसबाट जनधनको क्षति हुँदै आएको छ ।

उनले भने, ‘दुर्घटना न्यूनीकरणका लागि यो अभियान सञ्चालन गरेका हौं । साथै, सचेतनामूलक कार्यक्रम पनि सँगसँगै चलाइरहेका छौं।,’ उनले दुर्घटना न्यूनीकरण गर्न सबैको साथ, सहयोगको खाँचो रहेको बताए । ‘ट्राफिक नियम अनुसार यात्रा गरेको खण्डमा हामी सबै दुर्घटनाबाट जोगिन सक्छौँ । सडक यात्रा गर्दा सबैले कानूनको परिपालना गरेर अघि बढौँ ।’ उनले भने, ‘सुरक्षित वीरेन्द्रनगर बनाउन हामी सबैले सहकार्य, समन्वय गर्न आवश्यक छ ।,’

एकैदिनमा ८२ अटो कारबाहीमा 
एकैदिन (मंगलवार) मा ८२ वटा अटोहरुलाई कारबाही गरी ८० हजार राजश्व संकलन साथै लाईसेन्स नभएका ४५ वटा अटो जिल्ला ट्राफिक कार्यालय सुर्खेतको नियन्त्रणमा छन् । ‘हामीले एकैदिनमा ८२ अटो नियन्त्रणमा लिएर कारबाही ग¥यौ भने ४५ अटो अझै पनि नियन्त्रणमा छन् ।’ उनले भने, ‘ती अटोलाई कारबाही गरेर ८० हजार राजस्व संकलन गरेका छौ । हामीले यस अभियानलाई अझै निरन्तरता दिनेछौ ।’

उनले अटोले युवालाई रोजगार दिएको बताउँदै यसले राजधानीमा दुर्घटना हुने र त्यस कारण ती युवाहरु थप समस्यामा पर्ने देखिएको समेत बताए । उनले यहाँका अधिकांश अटो चालकसँग सवारी चालक अनुमती पत्र (लाइसेन्स) नहुँदा पनि दुर्घटना धेरै हुने गरेको बताए । उनले मंगलवार जिल्लाभर चेकजाँच अभियानको लागि सर्कलर जारी गरेका थिए ।

गत वर्ष ७४ वटा अटो दुर्घटना 
प्रहरी निरीक्षक सुनारका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ७४ वटा रिक्सा दुर्घटनामा परेका थिए । यस्तै २ हजार २५ अटो कारबाहीमा परेका थिए । त्यसबाट १० लाख २४ हजार ५ सय राजस्व संकलन गरेको उनले बताए । यस्तै लाइसेन्स प्राप्त नगरी अटो चलाएका ४ सय ८८ अटो कारबाहीमा परेका थिए ।

जसबाट ९७ हजार ६००, मादक पदार्थ सेवन (मापसे) गरेर चलाएका अटो (१०३) बाट ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको उनको भनाइ छ । उनले आफुहरुले राजस्व संकलन गर्नलाई कारबाही र चेकजाँचमा कडाई गरेको नभई दुर्घटना न्युनीकरण गर्नलाई सडकका चोकहरुमा चेकजाँच अभियान थालेको बताए ।

क्षमता २ हजार, गुड्छन् ८ हजार बढी
वीरेन्द्रनगर नगरपालिकाले नगरपालिकमा हालसम्म करिब एक हजार २ सय बढी अटो तथा ई रिक्सा दर्ता भएको जनाएको छ । नगरपालिका पालिकाले अटो व्यवस्थापन सम्बन्धी बनाएको कार्यविधी–२०७४ अनुसार वीरेन्द्रनगरमा अटोको क्षमता साढे ९ सय हो । तर, यहाँ ८ हजार बढी अटो गुड्ने गरेका छन् ।

निरीक्षक सुनारले जिल्लाभरिका २ हजार अटोको क्षमता भएको भएपनि यहाँ ८ हजार बढी अटो चल्ने गरेको बताए । जसले गर्दा ट्राफिक व्यवस्थापनमा चुनौतीका साथै अन्य जोखिमहरु हुने गरेका छन् ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार