
सुर्खेत। सुर्खेत काँक्रेविहार यातायात प्रा. लि.को स्वामित्वमा रहेको कर्णाली याक्स नामक अत्याधुनिक अशोक लेल्यान्ड भाइकिङ डबल एयर सस्पेन्सन बस औपचारिक रूपमा सञ्चालनमा आएको छ। सुर्खेतमै पहिलो पटक सोफासेट सिट, सुत्न मिल्ने सुविधा र कम इन्धन खपत हुने सुविधासम्पन्न बस सञ्चालनमा ल्याइएको हो।

सोमबार आयोजित कार्यक्रममा बसको शुभ–उद्घाटन सुर्खेत काँक्रेविहार यातायात प्रा. लि.का अध्यक्ष रमेश सापकोटाले गरे। पश्चिम नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको यस बसमा अत्यन्त आरामदायी सोफासेट सिट जडान गरिएको छ। ४५ सिट क्षमताको बसमा चार जना यात्रुले सुत्न मिल्ने विशेष सुविधा समेत रहेको छ।

लामो दूरीका यात्रुलाई लक्षित गरी डिजाइन गरिएको उक्त बसले यात्राको क्रममा थकान कम गर्ने र सुरक्षित तथा आरामदायी यात्रा सुनिश्चित गर्ने उद्देश्य राखिएको समितिले जनाएको छ। प्रति बस एक करोड १४ लाख रुपैयाँ लागत पर्ने यस सवारी साधनमा २२५ हर्सपावर क्षमताको इन्जिन प्रयोग गरिएको छ।

आईएमई मोटर्स कम्पनी लिमिटेडका प्रतिनिधि गंगाराज भुर्तेलका अनुसार यति क्षमताको प्रविधियुक्त बस नेपालमा पहिलो पटक भित्र्याइएको हो। हालसम्म कुनै पनि कम्पनीले यस्तै प्रविधि प्रयोग गरिएको बस नेपालमा नल्याएको भुर्तेलको दाबी छ। काँक्रेविहार यातायात प्रा. लि.ले यसअघि नै ३४ वटा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइसकेको जनाएको छ। वातावरणमैत्री र इन्धन बचतलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको यस बसले सुर्खेत–काठमाडौँ करिब ६५० किलोमिटर दूरीमा अन्य बसको तुलनामा १० देखि १२ हजार रुपैयाँसम्म इन्धन बचत गर्ने दाबी गरिएको छ।
सरकारले तोकेको भाडादरमै यात्रुले यो सुविधासम्पन्न बस सेवा लिन पाउने व्यवस्था गरिएको छ। यात्रुलाई तोकिएको समयमै सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने प्रतिबद्धता पनि समितीले जनाएको छ। यस्तै, आगामी पुस २५ गतेदेखि विराट यातायातसँगको सहकार्यमा सुर्खेतदेखि काकडभिट्टासम्म नियमित यातायात सेवा सञ्चालन हुने जानकारी दिइएको छ।