२०८३ जेठ २७ , बुधबार

सल्यानमा तुइनको जोखिम मोलेरै वारपार 



फाइल तस्बिर

कुलेन्द्र शाही, सुर्खेत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२ सालमा दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा ग¥यो । यसका लागि ०७२ असोज २५ मा बसेको मन्त्रिपरिषद्को बैठकले ‘देशभरका तुइन हटाउने’ निर्णय गरियो।

मन्त्रीपरिषद्को बैठकले तुइन हटाएर झोलुङ्गे पुल निर्माणको योजना अघि सार्ने निर्णय गरेको ८ वर्ष बितिसक्दा पनि मुलुकका विभिन्न नदीहरू तर्ने तुइन जस्ताका त्यस्तै छन् । ओलीको ‘तुइनमुक्त नेपाल’ बनाउने घोषणा अहिले अलपत्र अवस्थामा छ । यसको नमुना उदाहरण सल्यानको बनगाड बनेको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ कुनिकका स्थानीयहरू अहिले पनि तुइनकै भरमा जीवन चलाइरहेका छन् ।

यति मात्रै होइन उनीहरूले नदी वारपार गर्नु तुइन पनि स्थानीयहरूले आफ्नै लगानीमा निर्माण गरेका हुन् । स्थानीय तथा प्रदेश सरकारसँग पुलको लागि बारम्बार खबरदारी गरे पनि सरकारले पुल बनाउनतर्फ कुनै चासो नदेखाएपछि उनीहरूले आफ्नो सहजताका लागि आफ्नै लगानीमा तुइन निर्माण गरेका हुन् । उनीहरूले गत जेठमा आफ्नै लगानीमा तुइन निर्माण गरेका हुन् । स्थानीयहरूको लगानीमा बनेको  तुइन करिब १ सय २५ मिटर लामो छ ।

स्थानीयले बनाएको तुइनमा बनगाड कुपिण्डे नगरपालिका–२ कुनिक, बामे, लाखर, राइरा र जाजरकोटको छेडागाड नगरपालिकाको खाराका दुई दर्जन परिवारले प्रयोग गर्दै आएका छन् । पुल नहुँदा विगतमा गाडीको ट्युब प्रयोग गरी भेरी नदी वारपार गर्न बाध्य हुँदै आएका स्थानीयलाई अहिले भने केही राहत भएको छ ।

उनीहरूलाई जति राहत मिलेको छ त्यो भन्दा दोब्बर जोखिमसमेत छ । तुइन निर्माण गर्न झन्डै ५०र६० हजार लागत लागेको उनीहरूको भनाई छ । तुइन बनाउन बनगाड कुपिण्डे नगरपालिका–२ का अध्यक्ष मानबहादुर खत्रीले २५ हजार भन्दा बढी  रुपैयाँ आर्थिक सहयोग गरेका छन् भने अरू बाँकी रकम त्यहाँका स्थानीयवासीले नै व्यहोरेका हुन् ।

बस्ती सानो भएकाले विकास निर्माणमा पछि परेकोले स-साना योजनाहरू सरकारले गर्न चासो नदिने गरेको वडा अध्यक्ष खत्रीले बताए । उनले हिउँदमा नदीको बहाव कम हुँदा त जेनतेन तुइन तर्न सहज हुने तर, बर्खामा भेल बढेसँगै यो झन् कठिन हुँदै जाने गरेको उनको भनाई छ । उनले तुइनबाट अरुबेला भन्दा पनि वर्खामासका धेरै नै समस्या हुने गरेको बताए ।

वडा अध्यक्ष खत्रीले पुल नहुँदा विगतमा गाडीको ट्युब प्रयोग गरी भेरी नदी वारपार गर्न बाध्य हुँदै आएका स्थानीयलाई तुइन निर्माण भएपछि केही राहत भएको तर जोखिम उत्तिकै रहेको बताए । बर्खाको समय उर्लँदो भेरी नदी माथि झोलुङ्गे पुलको लहरा र त्यो पनि एउटा डोरीको सहायताले बनाएको तुइन, हरेक दिन यहाँका स्थानीय र विद्यार्थीहरू यही तुइनको सहारामा नदी वारपार गर्न बाध्य छन् ।

तुइनमाथि ताङ्लो अड्याएर वर्षौदेखि सामान ओसारपसार गर्ने र विद्यार्थीहरू समेत त्यही तुइनबाट वारपार गर्दै आएका छन् । यस क्षेत्रका विद्यार्थी, गर्भवती महिला, वृद्ध वृद्धा वा अशक्त बिरामी यही तुइनमार्फत वारपार गर्नुको विकल्प नभएको स्थानीय गोपीलाल शर्माले बताए । तुइनको भरमा नदी वारपार गर्दै आएका उनीहरू सधैँ मनभित्र डर बोकेर वारपार गर्दै आएको उनले बताए ।

दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न, बालबालिकालाई विद्यालय जान र बिरामीलाई उपचारका लागि अस्पताल लैजान समस्या भएपछि रकम उठाएर तुइन निर्माण गरिएको स्थानीय मानबहादुर घर्तीले जानकारी दिए । विद्यार्थीलाई विद्यालय जान तीन घण्टा हिँड्न समय लाग्ने र जङ्गलबाट जान जङ्गली जनावरको डर हुने भएकाले विद्यार्थीहरू पनि तुइन चढेर छेडागाड हुँदै भेरी नगरपालिकाको भुुरचौरमा पढ्न जाने गरेको शर्माले बताए ।

नेताहरू चुनावताका पुल बनाउने भनी आश्वासनका पोका लिएर आउने गरेको भए पनि चुनावपछि भने मुखै नदेखाउने गरेको र समस्या लिएर जाँदा पनि वास्ता नगरेको उनको भनाई छ । यहाँका १० जना विद्यार्थी मध्ये ६ जना विद्यार्थी यही तुइन तरेर एक घण्टा टाढा रहेको जाजरकोटको भेरी नगरपालिकामा रहेको माध्यमिक विद्यालय भुरचौरमा पढ्न जाने गरेको छन् ।

अन्य विद्यार्थी भने तुइनको डरले विद्यालय नै नजाने उनले बताए । यता, वडाध्यक्ष खत्रीले तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माणका लागि पहल थालिएको बताएका छन् । उनले वडाबाट झोलुङ्गे पुल निर्माणको लागि प्रदेश सरकारसँग पहल भइरहेको बताए ।

यता, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीले झोलुङ्गे पुल निर्माणको लागि तुरुन्तै सर्भे गरी भौतिक पूर्वाधार विकास निर्देशनालयलाई निर्देशन दिएको बताए । उनले अबको केही समयमा झोलुङ्गे पुल निर्माण गरिसक्ने आश्वासन पाएको दाबी गरे।

प्रकाशित मिति : २०८० भदौ २० गते बुधबार